सङ्गीत । साङ्गीतिक जोडी महेश काफ्ले र अस्मिता अधिकारीको ‘सोलफुल युएसए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ । यो जोडीले अमेरिकाको १५ भन्दा बढी शहरमा विभिन्न साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएका थिए ।
‘थ्री ई इन्टरटेन्मेन्ट’ले महेश र अस्मिताको जोडीलाई फिचर्ड गर्दै आयोजना गरेको ‘सोलफुल म्युजिकल यात्रा’ करिब साढे दुई महिनाभन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्डलगायतका राज्यमा सम्पन्न भएको थियो । भर्जिनियाको एसबर्नमा आयोजित दसैं तिहार फेस्टिभल र टेक्ससको ड्यालसमा आयोजित म:म फेस्टिभलमा महेश र अस्मिताको युगल जोडीलाई हेर्न १५,००० भन्दा बढी दर्शक उपस्थित भएको आयोजक थ्री ई इन्टरटेन्मेन्टका तर्फबाट सुरेश सापकोटाले जानकारी दिए ।
‘सोलफुल युएसए म्युजिकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको र दर्शकहरूले महेश र अस्मिताको जोडीलाई निकै रुचाएको आयोजकले बताएका छन् ।परदेशमा रहनुभएका नेपालीसँग तीज, दसैं तिहारजस्ता महत्त्वपूर्ण नेपाली चाडसँगै मनाउँदै प्रस्तुति दिन रमाइलो भएको अस्मिता र महेशले बताएका छन् ।










