
फिल्म । अनमोल केसी अभिनित पछिल्लो फिल्म ‘छड्के’ को लाइफटाइम कलेक्सनलाई उनको दसौँ फिल्म ‘फर्की फर्की’ ले एक दिनमै पार गर्यो । आफ्नो रोमान्टिक विधालाई छाडेर नयाँ ‘ट्राइ’ गर्दा दर्शकले उनलाई साथ् दिएनन् । अनमोलले फिल्म हेरेपछि प्रचारप्रसार नै गरेनन् । र, दसौँ फिल्मलाई पहिलो मानेर सुरुआत गर्ने तयारी गरे । यस विचमा विभिन्न कठिनाईबाट गुज्रिएका अनमोलले पुनः हलमा दर्शक फर्काउन सफल भएका छन् । उनको रमकम जनरामा फिल्म हेर्न दर्शकले हलमा भिडभाड देखाए ।
आफ्नो अघिल्लो फिल्म झैँ नलागोस् भनेर यसपटक उनले रोमान्टिक कमेडीसँगै ‘टाइम लुप’ को प्रयोग गरे । उनले भने,‘रोमान्टिक कमेडी उस्तै उस्तै लाग्नु स्वाभाविक हो । किनकि मायाको भाव र त्यसलाई ग्रहण गर्ने तरिका उस्तै हुन्छ । त्यसैले यसपटक हामीले टाइम लुपको प्रयोग गर्यौं । यो नेपाली दर्शकलाई बिल्कुलै नयाँ कन्सेप्ट हो ।’
बुद्ध जयन्तीको अवसर पारेर जेठ १० मा प्रदर्शन गरिएको फिल्मलाई हेर्न हलमा दर्शकको भिडभाड देखिएपछि अनमोल आफ्नो टिमसहित हल पुगे । दर्शक भेटे, फिल्मको प्रतिक्रिया लिए र फोटो खिचाए । यो अनुभव उनले केही अन्तरालमा गरेका हुन् ।
‘दर्शकलाई भेटेर प्रतिक्रिया लिन पाउँदा निकै खुसी छु । मैले यत्रो ग्याप किन गरे भन्ने प्रश्नको जवाफ फिल्मले दिएको छ । म एउटा फिल्म नसकिदासम्म अर्कोमा काम गर्दिन’, अनमोलले भने । अनमोलसँगै हल भिजिटमा अभिनेत्री जसिता गुरुङ, समृद्धि अर्याल, रवि काफ्ले, निर्देशक सुयोग गुरुङ र निर्माता रोहित अधिकारी पुगेका थिए ।

रोहित अधिकारी फिल्मस्’को प्रस्तुति र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यो फिल्ममा अरुण रिजालको पनि लगानी छ ।