फिल्म । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अमरप्रताप श्रेष्ठ जोडिएका छन्। निर्देशक चौधरीले आफ्नो नयाँ फिल्मका लागि अमरलाई अनुबन्ध गरेका हुन्।
सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीपछि अमरप्रताप फिल्मको कलाकार समूहमा थपिएका हुन्। फिल्मका लागि अमरले साढे दुई वर्षदेखि तयारी गरिरहेको निर्देशक चौधरीले बताए। उनका अनुसार अमरले अभिनयसँगै एक्सन, मार्सल आर्ट र नृत्यको तालिम लिएका छन्।
लामो समयको तयारी र तालिमकै कारण अमरले फिल्ममा महत्वपूर्ण भूमिकामा अवसर पाएको निर्देशक चौधरीले बताए। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा कलाकारको ठूलो समूह रहने जनाइएको छ। ‘महाकाव्यात्मक एक्सन ड्रामा’को शैलीमा बन्ने फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्।
निर्देशक चौधरीले यसपटक अघिल्ला फिल्मको तुलनामा ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन्। निर्माण पक्षले फिल्मलाई नेपाली फिल्म क्षेत्रकै ठूलो स्केलको एक्सन फिल्मका रूपमा प्रस्तुत गर्ने जनाएको छ।
फिल्म केही समयपछि छायाङ्कनमा जाने तयारीमा छ। निर्माण टिमले ७० दिनको छायाङ्कन तालिका तयार गरेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा छायाङ्कन गरिने जनाइएको छ। फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। को-निर्मातामा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्।
मानकृष्ण महर्जनको छायाङ्कन रहने फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गर्नेछन्। डिजिटल साझेदारमा ओएसआर डिजिटल, प्रचार–प्रसार साझेदारमा टौवा स्टुडियो र वितरकमा डीसीएन रहेको जनाइएको छ।










