सौन्दर्य । ‘द मिस ग्लोब २०२५’ की विजेता छायाथानुस सरादत्त नेपाल आएकी छिन् । मंगलबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेकी हुन् । सरादत्तलाई स्वागत गर्न मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्यायसहित मिस ग्लोब नेपालका विजेताहरू विमानस्थल पुगेका थिए। उनीसँगै मिस ग्लोबका अन्तर्राष्ट्रिय आयोजक फ्याकी बोजो पनि नेपाल आएका छन् । मिस ग्लोबको उपाधि जितेपछि सरादत्तको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।
नेपाल आइपुगेपछि प्रतिक्रिया दिँदै सरादत्तले पहिलोपटक नेपाल आउन पाउँदा निकै खुसी लागेको बताइन् । नेपालका हिमालप्रति विशेष आकर्षण रहेको उल्लेख गर्दै उनले भनिन्, ‘नेपाल पहिलोपटक आएकोमा धेरै खुसी छु। यहाँका हिमालबारे धेरै सुनेकी छु, पहाड र हिमालतिर घुम्न चाहन्छु।’
सन् २०२५ मा अल्बानियामा सम्पन्न मिस ग्लोबको फिनालेमा सरादत्तले थाइल्यान्डको प्रतिनिधित्व गर्दै ताज जितेकी थिइन् । ८० भन्दा बढी देशका प्रतियोगी सहभागी उक्त प्रतियोगितामा नेपालबाट रिजु भट्टराईले प्रतिनिधित्व गरेकी थिइन् । डा. सन्तोष उपाध्यायका अनुसार सरादत्त र उनको टोली पाँच दिन नेपालमा रहनेछन्। यस अवधिमा उनीहरूले काठमाडौंसहित आसपासका पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्नेछन्। साथै, विभिन्न औपचारिक भेटघाट तथा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।
यसअघि गत वर्ष पनि मिस ग्लोबकी विजेता डायना मोरेनो नेपाल आएकी थिइन् । उनले मिस नेसनल नेपालको अडिसनमा निर्णायकको भूमिकासमेत निर्वाह गरेकी थिइन् ।











