प्रिमियरमा रुचाइएको ‘परस्त्री’ आजदेखि हलमा

फिल्म । शुक्रबार नयाँ नेपाली फिल्म प्रदर्शनमा आउने भएता पनि ‘परस्त्री’ विहिबारदेखि नै प्रदर्शन गरिएको छ । वितरक करण श्रेष्ठले फिल्म एक दिन अगाडी प्रदर्शन गरिएको जानकारी दिए ।

‘निर्माण समूहले निर्णय गरेर एकदिन अगाडी नै प्रदर्शन गरेका छौँ । प्रिमियरमार्फत पाएको सकारात्मक प्रतिक्रिया वितरण गर्ने समूहसँगै प्रदर्शक पनि उत्साहित हुनुहुन्छ’, वितरक श्रेष्ठले भने ।

बुधवार बेलुकी गरिएको प्रिमियरमा निम्तालुले विषयवस्तु र प्रस्तुतीकरणको तारिफ गरेका छन् । अधिकाँसले डेब्यु निर्देशक सुरज पाण्डेको कामको तारिफ गरेका हुन् । यसका लेखक दीपेन्द्र के खनालले सामाजिक कथालाई फिल्मी शैलीमा पस्किएको जानकारी दिए ।

यसका साथै फिल्म ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्र प्रदर्शन भएको छ । हिन्दी भाषामा समेत प्रदर्शन हुने भनिएता पनि अन्तिम समयमा नेपालमा नेपाली भाषालाई मात्र प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिएको छ ।

‘हिन्दी भाषामा रहेको परस्त्रीको संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको चलचित्र परस्त्री नेपालमा प्रदर्शन हुनेछ’, निर्देशक पाण्डेले भने । पारिवारिक सम्बन्धमा हुने विश्वासघातको कथामा बनेको फिल्ममा शिल्पा मास्केले शीर्ष भूमिका निर्वाह गरेकी छिन् । दीपेन्द्र के खनालको लेखन रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यसमा शिल्पासँगै कोसिस क्षेत्री, गौरव विष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्