फिल्म । बलिउड अभिनेता इरफान खानले गत बुधवार यो संसार छाडे । उनले संसारलाई ‘अलविदा’ भने पनि उनका कामले उनलाई सदैव जीवित राख्ने छ । उनको निधन कलाप्रेमीको लागि सहज थिएन । थियटर र फिल्ममा उच्च शिखरको नाम इरफान काममा निकै विश्वास गर्थे । पान सिंह तोमार र हिन्दी मिडियम मार्फत नेशनल अवार्ड विजेता बनेका इरफान कामले चिनिन चाहन्थे ।
उनलाई भाषा , धर्म भन्दा पनि कामको कारणले चिनिनु थियो , त्यसैले उनले आफ्नो नामको पछाडीको खान हटाएका थिए । पछिल्लो फिल्महरुमा उनको नाम इरफान मात्र राखिन्थ्यो । उनले एक अन्तर्वार्तामा भनेका थिए ,’म कामको पुजा गर्छु तर हामीलाई घराना र धर्मसँग दाजिन्छ । यो ठिक हैन ।’ सायद यसैले गर्दा हुन् सक्छ , जब बलिउडमा उनको कुरा सुन्न थालियो उनले ‘खान’ हटाए ।
बलिउडमा कपूर खानदान र खान खानदानको वर्चस्व छ । यद्दपी उनि यस्ता कार्यमा विश्वास राख्थेनन् । उनि आफु र आफ्नो कामलाई लिएर क्लियर थिए । स्ट्रगलकै समयमा पनि उनि यश चोपडा , सुभाष घईसँग कहिले काम माग्न गएनन् । किनकी उनलाई त्यस्तो फिल्ममा आफ्नो स्थान छैन भन्ने थाहा थियो । उनि क्यारेक्टर बाच्न चाहन्थे । उनि एनएसडी पास भएपछि पनि झन्डै एक दशक संघर्ष गरेर फिल्ममा उदाएका थिए । फिल्ममा आफ्नो छुटै परिचय बनाउन सफल इरफानको अन्तिम फिल्म ‘अंग्रेजी मिडियम’ बन्यो । भारतमा कोरोना भाइरसको प्रकोप सुरु भइरहदा रिलिज भएको यो अन्तिम फिल्म थियो । (एजेन्सी)










