फिल्म । नेपाली टेलिभिजनबाट प्रशारण भएर लोकप्रिय भएको टेलीसिरियल ‘जिरे खुर्सानी’मा बाल-कलाकारको रुपमा अभिनय गरेर चर्चित भएका इशान राउतले फिल्ममा अभिनय गर्ने भएका छन् । ‘जिरे’ उपनामले दर्शक माँझ परिचित इशान मकवानपुरको चित्लाङमा छायांकन भइरहेको फिल्म ‘ज्वाइँ साब’मा कलाकारको रुपमा जोडिएका छन् ।
वसन्त निरौलाको निर्देशनमा तयार भइरहेको फिल्ममा उनी जीतु नेपालसँगै देखा पर्दैछन् । जीतुले नै निर्देशन गरेको ‘जिरे खुर्सानी’बाट इशान स्थापित भएका थिए । बाल-कलाकारको रुपमा स्थापित भएका इशान अब ठूलो भइसकेका छन् ।
उनको फिल्ममा कस्तो भूमिका रहनेछ भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, फिल्ममा उनलाई र जितु नेपाललाई एकसाथ देख्दा दर्शकको ध्यान पक्कै पनि तानिनेछ ।
२० दिन चित्लाङमा खिचेर यसको निर्माणपक्ष सौराहा र इलाम पुग्नेछ । फिल्ममा जीतुको जोडीको रुपमा नीति शाहले अभिनय गरिरहेकी छिन् । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भइरहेको यो फिल्मलाई तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
यो फिल्ममा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । विजय वस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।











