फिल्म । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मितज्यू’ लाई दर्शकको बलियो साथ मिलिरहेको छ । दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेपछि निर्माण टिम हल–हलमा पुगेर प्रतिक्रिया संकलन गरिरहेको छ । राजधानीका केही हलमा दर्शकसँग साक्षात्कार गरेपछि फिल्मको टिम मोफसल भ्रमणमा निस्किएको हो । बुधबार बिहान फिल्मका मुख्य कलाकार दयाहाङ राई, टेरिया फौजा मगर र निर्देशक अनिल बुढा मगर सहितको टोली नेपालगञ्ज, दाङ र बुटवल तर्फ प्रस्थान गरेको निर्माण पक्षले जनाएको छ ।
निर्माण टिमले ती स्थानका विभिन्न हलमा पुगेर दर्शकसँगै बसेर फिल्म हेर्ने तथा प्रत्यक्ष प्रतिक्रिया लिने कार्यक्रम तय गरेको छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल र टेरिया फौजा मगर मुख्य भूमिकामा छन् । उनीहरूसँगै शिशिर वाङ्देल, खड्गबहादुर पुन मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मका लगानीकर्ता जनक घर्तीमगर हुन् । फिल्मको निर्देशन अनिल बुढा मगरले गरेका हुन् । लोकेश बज्राचार्यले सम्पादन गरेको फिल्मको छायांकन शिशिर विशंखेले गरेका छन् ।












