फिल्मीखबर सम्मान : जीतु र रिनाशा वर्ष व्यक्ति, बिष्णुलाई पत्रकारिता पुरस्कार

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजन गर्दै फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सव मनाएको छ । यसैको अवसरमा फिल्मीखबरले वर्ष व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ । कलाकार जीतु नेपाल र निर्देशक तथा कोरियोग्राफर रीनाशा वान्तवा राईलाई फिल्मीखबर वर्ष व्यक्ति सम्मान अर्पण गरियो भने विष्णु प्रसाद सुबेदीलाई फिल्मीखबर–सविन शाक्य स्मृति रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

फिल्मीखबरका सम्पादक शान्तिप्रियको सभापतित्वमा सम्पन्न समारोहमा बरिष्ठ अभिनेत्रीद्वय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह, बरिष्ठ संगीतकार शम्भुजित बासकोटा, बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला, बरिष्ठ अभिनेता सुनिल थापा, बरिष्ठ अभिनेता सरोज खनालको आथित्यता रहेको थियो । समारोहमा कलाकार तथा निर्देशक दिपाश्री निरौला, कलाकार केदार घिमिरे माग्ने बुढा, कलाकार निर्मल शर्मालगायत थुप्रै चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

जीतु नेपालले यस वर्ष अत्याधिक सफल फिल्म छक्का पञ्जामा निर्माण, स्कृप्ट लेखन तथा अभिनय गरेका थिए भने यसैवर्ष नेपाल टीभिमा रीयालिटि शो मुन्द्रेको कमेडी क्लव सञ्चालन गरी चर्चामा आएको भन्दै वर्ष व्यक्ति रुपमा सम्मान गरिएको फिल्मीखबरले जनाएको छ । त्यस्तै म्यूजिक भिडियो बाटै प्रवेश गर्दा गर्दै चर्चामा रहेकी रीनाशाले फिल्म कोरीयोग्राफिमा पनि सफलता प्राप्त गरेकी थिइन् । यसै वर्ष निर्देशनमा पाइला चालेकी राई इन्टु मिन्टु लण्डनमा मार्फत नव निर्देशकहरुमा सफल देखीएकी छिन् ।

वरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कारबाट पहिलोपटक विष्णु प्रसाद सुवेदी पुरस्कृत भएका हुन् । विगत डेढ दशक देखी रंग पत्रकारितामा संलग्न सुवेदीले यसैवर्ष मात्र ‘लेन्स नेपाल डट कम’ को वेब पोर्टल प्रकाशन गरी नवीन कार्यको थालनी गरेको थिए । वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफि र रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र, ट्रफि एवं दश हजार दश रुपैंया रकम सहित सम्मान तथा पुरस्कार प्रदान गरीएको हो ।

पछिल्लो समय डिजिटल मिडियाको प्रभाव परेसँगै प्रिन्ट मिडिया केही ओझेलमा परेकोले त्यसलाई बाचाई राख्नु आफैमा चुनौतिपूर्ण रहेको सम्पादक शान्तिप्रियको भनाई छ । उनले यो चुनौतिलाई स्वीकार्दै फिल्मीखबरले १० औं वर्ष प्रवेश गरेकोमा खुशी प्रकट गरेका छन् । फिल्मीखबर नेपाली रंग पत्रकारिता इतिहासंमा १० औ वर्ष मनाउने पहिलो साप्तहिक पत्रिका हो । रंग पत्रकारिताको क्षेत्रमा प्रकाशित कुनै पनि साप्ताहिक पत्रिकाले १० औं वर्ष मनाउने अवसर पाएका थिएनन् ।

कमेन्ट गर्नुहोस्