फिल्म । नयाँ नेपाली फिल्म ‘परिवार’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित शुभमुहूर्त समारोहका बीच निर्माण पक्षले यो फिल्मको निर्माण सुरु भएको जानकारी दिएको हो । शुभमुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । यो फिल्मको निर्देशन मदन थापाले गर्दैछन्, जसले यसअघि फिल्म ‘बाटो: रोड टू डेथ’ निर्देशन गरेका थिए । उनले हालै भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्यु: च्याप्टर-१’ मा क्रिएटिभ निर्देशकको भूमिका पनि निर्वाह गरेका छन् ।
‘परिवार’ को अधिकांश छायांकन काठमाडौंमा हुनेछ भने केही दृश्य उपत्यका बाहिर खिचिने निर्माण पक्षले जनाएको छ । फिल्मको घोषणा पोस्टरमा चारजना पात्र, एक पुरुष, दुई महिला र एक बालक देखिएका छन् ।
पोस्टरमा कुकुर र बिरालो पनि समावेश छन्, जसले परिवारभित्रको द्वन्द्व वा असमझदारीको संकेत गर्छ। टाइटल डिजाइनमा ‘परि’ छुट्टै र बाँकी अंग्रेजीमा ‘WAR’ (वार) लेखिएको छ, जसले परिवारमा हुने आन्तरिक संघर्षलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ । फिल्ममा कुन–कुन कलाकारले अभिनय गर्नेछन् भन्ने जानकारी निर्माण पक्षले हालसम्म खुलाएको छैन ।
फिल्मका निर्माताहरूमा किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा र स्प्रान्जा कँडेल छन् भने सन्तोष अधिकारी सहनिर्माताको भूमिकामा छन् । कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् र स्टोरी डिरेक्शन निर्देशक थापाकै छ । निरज कँडेलको छायांकन रहने फिल्ममा शेर शाही क्रिएटिभ डिरेक्टर छन् । यसैगरी, स्टाइल डिरेक्शन विशाखा बिक्रम थापा, सिनेमेटोग्राफी विशेष महर्जन, चिफ असिस्टेन्ट डिरेक्टर सिर्जजा भुजेल, असिस्टेन्ट डिरेक्टर राजिव गहतराज र एक्सन डिरेक्टर एनबी महर्जन छन्। लाइन प्रोड्युसरमा वारिस सोना र कार्यकारी निर्मातामा रमेशबहादुर शाही छन् ।
रे अफ आर्टको प्रस्तुति रहेको यो फिल्ममा भिसा आई फिल्म्स र साही फिल्म्सको सहकार्य छ । आत्रेय प्रोडक्सन हाउसद्वारा निर्मित यो फिल्मले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।











