ओमिक्रोन त्रास : पछि हट्यो ‘प्रेम गीत–३’

फिल्म । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्न थालेपछि पहिलो असर मनोरंजन क्षेत्रलाई पर्न थालेको छ । छिमेकी राष्ट्र भारतको दिल्लीमा हल बन्द भएपछि त्यहाँ फिल्महरु रिलिज स्थगित भए । प्रतिक्षित फिल्म आरआरआर , जर्सी लगायतका फिल्मले रिलिज रोकिसकेका छन् । यसको असर नेपालमा पनि परेको छ । आउँदो फागुन १३ गतेलाई प्रदर्शन मिती तय गरिएको फिल्म ‘प्रेम गीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेनले एक विज्ञप्ति जारी गर्दै फिल्म रिलिज अर्को सूचना नभएसम्मलाई स्थगित गरिएको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ ,’भारतीय वितरक समूहले दिएको सल्लाह र सिनेमा घरहरु बन्द हुने क्रम बढेको हुनाले नेपाल, भारत तथा विश्वभरी अलग–अलग मितिमा प्रदर्शन नगरी एकसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएकाले त्यसलाई हामीले स्वीकार गर्दै रिलिज स्थगित गरेका छौँ ।’ उनले फिल्म सरेको जानकारी दिदा आफुलाई दुख महसुस भएको समेत उल्लेख गरेका छन् । उनि अर्को प्रदर्शन मिति कोरोना संक्रमणको त्रासलाई मध्यनजर गरेर मात्र घोषणा गर्ने तयारीमा छन् ।

फिल्मलाई सन्तोषसँगै छेतेन गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का , क्रिष्टिन गुरुङ , शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ । आसुशेन फिल्मस् प्रोडक्सनमा निर्माण भएको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत , राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्