फिल्म । अभिनेता प्रदीप खड्काको मैत बहादुरको लुक्स सार्वजनिक गरिएको छ । उनको जन्मदिनको अवसर पारेर यो लुक्स सार्वजनिक गरिएको हो । निर्देशक दिनेश राउतले उनले नाम ‘मैत बहादुर’ रहेको जनाउँदै पात्र परिचय दिने दुई वटा फोटो सार्वजनिक गरेका छन् । फोटोमा खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएका र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् । फोटोले उनी बाजा बजाउने पात्रको रूपमा परिचय दिएको छ ।
निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । तर, निर्देशकले मैत बहादुरको थर भने खुलाएका छैनन् । यसको अर्थ प्रदीपले निभाएको चरित्र पहिचानको सङ्घर्षमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । प्रदीपसँगै अभिनेताद्वय आर्यन सिग्देल र पल शाहले एकसाथ अभिनय गरिरहेको ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ ।
विकास सुवेदीको लेखन रहेको फिल्ममा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ ।
दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउन लागेको खबर बाहिरिएदेखि नै ‘पुजार सार्की’ चर्चामा रहँदै आएको छ । फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको फिल्म ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै फिल्म ‘सेल्फी किङ्ग’मा समावेश थियो ।
राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।
हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।












