इनास एसिया संयोजकमा गीतकार पाण्डे

फिल्म । गीतकार तथा सञ्चारकर्मी दयाराम पाण्डे अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एसिया क्षेत्रीय समितिको संयोजकमा निर्वाचित भएका छन् । काठमाडौँमा बुधबार सम्पन्न छैटौँ इनास ग्लोबल महाधिवेशन -२०८२ बाट पाण्डे एसिया संयोजकमा निर्विरोध निर्वाचित भएका हुन् । उनको कार्यकाल दुई वर्षको (२०२५–२०२७) हुनेछ ।

यसअघि इनास नेपालको अध्यक्षको भूमिकामा रहेका पाण्डे नेपाली साहित्य, कला र सांस्कृतिक क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । इनास सन् २०१२ मा पोल्यान्डबाट स्थापना भएको संस्था हो । नेपाली भाषा, साहित्य, कला, संस्कृति, सिनेमा र खेलकुदको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले गठित यो संस्था हाल विश्वका ७५ भन्दा बढी राष्ट्रमा फैलिएको छ ।

महाधिवेशनमा विभिन्न राष्ट्रका नेपाली कलाकार तथा प्रतिनिधिहरूको सहभागिता थियो । पाण्डेको निर्वाचनले एसिया क्षेत्रमा नेपाली कलाकारिताको प्रवर्द्धनमा थप गति दिने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्