फिल्म । नयाँ वर्ष २०८३ को पहिलो दिनमा नायिका पूजा शर्माले नयाँ फिल्म ‘रत्यौली’ निर्माणको घोषणा गरेकी छन् । नाइटिङ्गेल इन्टरटेनमेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको उक्त फिल्ममा पूजा शर्मा र नायक विजय बरालको जोडी पक्का भएको छ । यो फिल्ममार्फत पूजा र विजय पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन्। मुस्कान ढकालको निर्देशनमा बन्ने फिल्मलाई सुरज आचार्यले निर्माण गर्नेछन्।
एक सयभन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरका रूपमा काम गरिसकेका आचार्यले केही चर्चित भारतीय फिल्ममा पनि लाइन प्रोड्यूसरका रूपमा अनुभव बटुलेका छन्। उनले ‘उचाई’, ‘फर्जी’, ‘मिराई’, ‘टिसोन नाइडु’ र ‘दस का दम’ लगायतका प्रोजेक्टमा काम गरिसकेका छन्। करिब ३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय आचार्यले ‘मेरो लभ स्टोरी’ र ‘कर्मयोद्धा’मा सह–निर्माता तथा ‘वरमाला’मा निर्माता भएर काम गरिसकेका छन्।
सार्वजनिक गरिएको पोस्टरमा पूजा र विजय ‘रत्यौली’ नृत्यमा प्रस्तुत भएको देखिन्छ। पोस्टरमा पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छन् भने उनको ओठमा जुँगा समेत देखाइएको छ, जसले फिल्म हास्य तथा मनोरञ्जनात्मक हुने संकेत गर्छ।










