सिमा विवाद बारे बोले हमाल (भिडियो)

फिल्म । नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेत समावेश गरि नयाँ नक्शा सार्वजनिक गरेसँगै भारतीय मिडियामा यसलाई लिएर टिप्पणी सुरु भैसकेको छ । अभिनेत्री मनिषा कोइरालाले नेपालले हालै जारी गरेको राजनीतिक नक्साबारे प्रतिक्रिया दिँदा भारतीय मिडिया तरंगित बनेका छन् । मनिषाले नेपाल सरकारको समर्थनमा त्रीपक्षीय संवादको कुरा उठाएकी थिइन् । तत्कालै भारतका केही सत्तापक्षधर मिडियाको रुपमा चिनिएका मिडियाले मनिषाको व्यक्तिगत टिप्पणीमै उत्रिएका छन् । मनिषालाई भारतीय मिडियाले हमला गर्न थालेपछि नेपालीले उनको समर्थन गरेका छन् ।

यसैबीच सिमा विवादको विषयमा अभिनेता राजेश हमालले आफ्नो धारणा व्यक्त गरेका छन् ।‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधीले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू–भाग हो ।’ हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गर्दै आफ्नो भनाई सार्वजनिक गरेका हुन् । उनले भारतको पछिल्लो समयको गतिविधी स्विकार्य नहुने पनि बताएका छन् ।

नेपाली जनताले आफ्नो सिमाको बिषयमा कुनै पनि खालको संझौता नगर्ने अडान रहेको समेत उनले प्रस्ट्याएका छन् । हमालले नेपाल र भारतविच उठेको सिमानाको समस्याले सिंगो देशका नागरिकलाई जस्तै आफूलाई पनि मर्माहत बनाएको बताउदै भारतलाई इतिहास पल्टाएर हेर्न पनि आग्रह गरेका छन् । ‘भारतले सिमानाको समस्यालाई इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कुटनितिक तवरमा समस्या समाधान गर्न आवश्यक छ । सिमानाको समस्याले गर्दा नेपाली जनतामा उठिरहेको आक्रोशलाई शान्त बनाउन भारतले सहयोगी भावका साथ कदम चाल्न जरुरी छ’ हमालले भिडियोमा भनेका छन् ।

कमेन्ट गर्नुहोस्