फिल्म । गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो निर्देशनमा तयार हुने पहिलो फिल्म ‘वसन्त’ को घोषणा गर्दै यसमा आफ्नो भोगाईलाई समावेश गरेको बताएका छन् । आज एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको कार्यक्रममा प्रकाशले फिल्ममा आफ्नै भोगाई र देखाईलाई कथा बनाएर प्रस्तुत गर्ने बताए ।
‘पहिलो आफ्नो कथालाई देखाउ र भनौँ जस्तो लाग्यो । त्यसपछि अन्य कथा भन्ने सोच छ । यो केही भोगाई र केहि देखाईमा आधारित रहेर बुनिएको कथा हो’, प्रकाशले भने । उनले फिल्ममा अन्तरजातीय प्रेमकथा व्यक्त गर्दैछन् । यसमा प्रकाशसँगै स्वस्तिमा खड्का, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतका कलाकारले अभिनय गर्दैछन् ।
फिल्मको छायांकन साउन वा भदौमा गर्ने तयारी निर्माण पक्षको छ । फिल्म संवत यो वर्षको अन्तिममा प्रदर्शन हुने छ । फिल्ममा संगीत र पटकथा पनि सपुतकै छ । कार्यक्रममा फिल्मको घोषणा भिडियो पनि सार्वजनिक गरिएको थियो । जहाँ, स्कुले जीवनमा रमाएका एक युवक र एक युवतीको अन्तरजातिय प्रेमलाई देखाइएको छ ।
यो फिल्मले गायक सपुतकै गृह जिल्ला बागलुङको सेरोफेरोको कथा भन्नेछ । फिल्ममा प्रकाशले शीर्ष भूमिकामा अभिनय गर्दैछन् भने स्वस्तिमाले शान्ति पात्रको भूमिका निर्वाह गरेकी छिन् । यो फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा मुख्य सहायक निर्देशक प्रकाशकै भाई सुनिल विक रहेका छन् ।