फिल्म । गत फागुन २३ गतेदेखि प्रदर्शनरत फिल्म ‘होस्टेल ३’ ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा ५१औँ दिन पूरा गरेको छ । यस अवसरमा ५१ दिनको प्रदर्शनको उपलब्धिलाई स्मरणीय बनाउन निर्माण टिमले विशेष कार्यक्रमको आयोजना गर्दै खुसियाली साटेको छ । फिल्म प्रदर्शन भएको शनिवार नै ५१ दिन पुरा भएता पनि विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको निर्देशक सशान कँडेलले जानकारी दिए ।
सो अवसरमा फिल्म युनिटलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा कलाकारहरू पारस बम (कुल ब्वाई), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँको उपस्थिति रहेको थियो भने, पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान अनुपस्थित रहे ।
निर्देशक सशान कँडेल, लेखक तथा एसोसियट निर्देशक माधव शर्मा र निर्माता कर्ण कार्कीले फिल्मलाई साथ र समर्थन गरेका दर्शक तथा पत्रकारहरूप्रति धन्यवाद व्यक्त गरे ।
‘होस्टेल’ शृङ्खला नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्ने फिल्मको रूपमा चिनिन्छ । यसको तेस्रो श्रङ्खला ‘होस्टेल ३’ले पनि सम्भावना बोकेका केही कलाकारलाई परिचित गराएको छ ।
फिल्मको निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।










