माघ १ मा ‘भाइरल गोर्खे’

फिल्म । सौगात मल्ल अभिनीत फिल्म ‘भाइरल गोर्खे’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरसँगै निर्माण टोलीले फिल्मको रिलिज मिति पनि घोषणा गरेको छ । यो फिल्म आगामी माघ १ गते प्रदर्शनमा आउनेछ ।

पोस्टरमा मुख्य पात्रहरू सौगात मल्ल र सृष्टि श्रेष्ठ रोमान्टिक भावमा प्रस्तुत छन् । पोस्टरको छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ, जसले दुई पात्रबीचको प्रेमकथालाई संकेत गर्छ । सोही बोलको गीत आज सार्वजनिक हुँदैछ । पोस्टरमा लाइक, लभ रियाक्ट र इमोजीहरू समावेश छन्, जसले सामाजिक सञ्जालमा भाइरल हुने चाहना र त्यसप्रतिको मोहलाई चित्रण गर्छ ।

‘फलोइङ फर यू’ लेखिएको पोस्टरमा सौगात र सृष्टि मोबाइल फ्रेमभित्र टिकटक वा रिल्स बनाइरहेको जस्तो देखिन्छ ।‘भाइरल गोर्खे’ टिकटक, फेसबुक र युट्युबजस्ता प्लेटफर्ममा भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको फिल्म हो । सामाजिक सञ्जालको यो प्रवृत्तिलाई रोगकै रूपमा चित्रण गर्दै फिल्मले समसामयिक र जल्दोबल्दो विषय उठान गरेको छ ।

निर्माण टोली यो फिल्मले दर्शकको मन जित्नेमा विश्वस्त छ।निर्देशक निगम श्रेष्ठले समसामयिक र घरघरको कथावस्तु भएकाले दर्शकले यो फिल्म मन पराउने बताए । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । उनीहरूमार्फत निर्देशक श्रेष्ठले नेपालमा पछिल्लो समय विकृतिको रूपमा मौलाउँदै गएको भाइरल प्रवृत्तिमाथि व्यंग्य गरेका छन् ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कूलको ब्यानरमा बनेको यो फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाको अभिनय रहेको छ।फिल्मका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर छन् भने सह-निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । अमर महर्जनको छायांकन रहेको यो फिल्म लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको छ । फिल्मको वितरण सुनिल मानन्धरले गरेका छन् भने द्वन्द्व निर्देशन श्री श्रेष्ठ, सम्पादन बन्देप्रसाद, रवि चौधरी र भीम विश्वकर्माले गरेका छन् ।

कमेन्ट गर्नुहोस्