फिल्मकर्मीले गरे बोर्डको कडा आलोचना

फिल्म । नामकै कारण नेपाली फिल्म ‘रङ्गेली’ लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति नदिएपछि यसको चर्को आलोचना भएको छ । फिल्मकर्मीले सामाजिक सञ्जालमार्फत नामकै कारण फिल्मले प्रदर्शनकको इजाजत नपाउनु दुखद रहेको भन्दै आलोचना गरेका हुन् । जाँच समितिले छायांकन भएको थलो रङ्गेली नगरपालिकाको सहमति पत्र ल्याएपछि मात्र प्रदर्शन इजाजतको प्रमाणपत्र पाउने बताएको छ ।

समितिका सदस्य सदस्य ऋषिराज आचार्यले ठाउँको संवेदनशीलतालाई लिएर आफूहरुले कन्सेन्ट पेपर खोजेको बताए । फिल्मका निर्माता जितेन्द्र खतिवडाले आफूहरुले यो समस्या समाधान हुने आशा लिइएको बताए । सेन्सर बोर्डले केही दृश्य र संवाद मिलाएर आउनु भनेको खतिवडाको भनाइ छ । अर्जुन सुवेदी निर्देशित ग्याङस्टर फिल्म ‘रङ्गेली’ फागुन २५ मा प्रदर्शन हुँदैछ ।

फिल्मले नामकै कारण सेन्सर पास नभएपछि फिल्म निर्माता तथा लेखक दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् । उनले भारतमा ‘दिल्ली बिल्ली’, ‘काश्मीर फाइल्स’ जस्ता फिल्म बनेको उदाहरण दिदै सेन्सर बोर्ड विनाकारण झन्झट दिन उन्मुख रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त । यो रङ्गेली किन सेन्सरमा परेछ ! सेन्सलेस सेन्सर बोर्ड ।’

निर्देशक मनोज पण्डितले सेन्सर बोर्डलाई ‘पाकेको पिलो’को संज्ञा दिदै फिल्मकर्मीलाई आफ्नो धारणा स्पष्टरुपमा राख्न आग्रह गरेका छन् । ‘सिनेकर्मी साथीहरु हो, छिमेकीको घरमा पसेर मान्छे खाने बाघ कुनै दिन मेरो पनि घर पसेर मेरो परिवार पनि तहसनहस गर्न सक्छ भन्ने सोचौं र छिमेकीकोमा पस्दा मेरोमा पसेको होइन भनेर सिरक ओडेर नबसौं । यो सेन्सरबोर्ड नामक स्रष्टाको अभिव्यक्ति स्वतन्त्रता खान पल्केको बाघलाई बाँधेर खोरमा थुन्न सबै एक जुट होऔं र आवश्यक परे । सिने–अनसन बस्न पनि तयारी गरौं’, निर्देशक पण्डितले उल्लेख गरेका छन् ।

केन्द्रीय चलचित्र जाँच समितिले तयार पारेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ मस्यौदाप्रति फिल्मकर्मीले असहमति जनाइरहेका छन् । उक्त कार्यविधिले सिर्जनात्मक स्वतन्त्रतामा अङ्कुश लाग्ने ठहर गर्दै फिल्मकर्मीले आफ्नो असहमति स्पष्ट रुपमा व्यक्त गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्