फिल्म । आउँदो शुक्रबार अर्थात चैत ८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘द्रौपदी’ मार्फत अभिनेताको रुपमा गायक रवि ओड र अभिनेत्रीको रुपमा आश्विनी शाहले डेब्यु गर्दैछिन् । यी दुईसँगै अन्य केही नयाँ अनुहारसमेत फिल्ममा छन् । ती अनुहारहरू अडिसन दिएर फिल्मको पात्रको लागि सेलेक्ट भएको निर्देशक ऋषिराज आचार्यले बताए ।
डोल्पा जिल्लाको मनोरमदृश्यमा छायाङ्कन गरिएको फिल्ममा स्थानीय संस्कृतिलाई समेटिएको छ । यसकारण पनि ग्रामिण भेगलाई देखाउन पात्रसँग सुहाउँदो अनुहार चाहिएको निर्देशक आचार्यले बताए ।
‘मैले अडिसन आह्वान गरेर यी नयाँ अनुहारलाई क्षमताको आधारमा सेलेक्ट गरेको हुँ । कथामा सिर्जना गरिएको पात्रलाई जीवन दिनसक्ने भएकाले नै उहाँहरू फिल्ममा हुनुहुन्छ’, निर्देशक आचार्यले भने ।
नेपाल आइडलको दोस्रो शृङ्खलाका विजेता गायक रवि ओड अभिनयमा रुचि भएकाले नै तयारी गरेर काम गरेको गायक बताए । ‘आफ्ना गीतको श्रव्यदृश्यमा देखिँदा केही आत्मविश्वास बढेको थियो । यसका निर्देशक आचार्यसँग झन्डै तीन महिना अभिनयको बारेमा प्रशिक्षण लिएपछि अभिनेता बन्ने निर्णय लिएँ’, गायक ओडले भने ।


उनीझैँ यसैमार्फत आश्विनी शाहीले अभिनयको सुरुआत गरेकी छिन् । आफ्नो परिवेश र जीवनभन्दा फरक पात्र पाएकाले आफू अभिनय गर्न प्रेरित भएको अभिनेत्री शाहीले बताइन्। ‘मेरो लागि यो अवसरसँगै चुनौती थियो । किनकि मैले यस्तो जीवन र परिवेश बाँच्न पाएकी थिइनँ । पश्चिमेली लवजका लागि पनि मैले सक्दो मेहनत गरेको छु । पहिलो चलचित्रमै पात्रलाई प्रस्तुत गर्न पाउँदा खुसी छु’, अभिनेत्री शाहीले निन् ।
फिल्ममा सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् । यसमा सौरभ शर्माले पाश्र्वसङ्गीत सृजना, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला, मोहन झिल्लुले छायाङ्कन गरेका छन् ।