फिल्म । अभिनेता केदार घिमिरेले आफ्नो आगामी फिल्म ‘माग्ने राजा’ को टिजरले पाएको प्रतिक्रियाबाट आफू र निर्माण टिम निकै उत्साहित भएको बताएका छन् । फिल्मकर्मी र दर्शक दुवैबाट व्यापक प्रशंसा पाएको टिजरले अपेक्षित प्रतिक्रिया प्राप्त गरेकोमा उनले खुसी व्यक्त गरे । घिमिरेले फिल्मका बाँकी प्रचार सामग्रीले पनि सोही अनुसारको माया पाउने विश्वास व्यक्त गरेका छन् ।
टिजर सार्वजनिक भएको तीन दिनमै करिब १० लाख भ्यूज पाएको छ, जसले गर्दा यसका संवाद र निर्माण मूल्य (प्रोडक्सन भ्यालु) लाई दर्शकले निकै मन पराएका छन् । दर्शकले नयाँ स्वरूपमा हेर्न खोजेको प्रतिक्रियालाई सकारात्मक रूपमा लिएको घिमिरेले बताए । यद्यपि, उनले ‘माग्ने राजा’ को चरित्र ‘माग्ने’ को निरन्तरता भएकोले पुरानो ‘माग्ने’ का लवज र थेगो प्रयोगमा आएको स्पष्ट पारे । उनले फिल्ममा नयाँ ‘माग्ने’ पनि देख्न पाइने जानकारी दिए ।
फिल्मका निर्देशक ऋषि लामिछानेले टिजरले तीन दिनमा ९ लाख ९३ हजारभन्दा बढी दर्शक पाउनुलाई फिल्मले कमाएको विश्वासको रूपमा लिएको बताए । उनका अनुसार हास्य विधामा निर्माण भएको यो फिल्मको टिजरले दर्शकमा उत्सुकता सिर्जना गर्न सफल भएको छ ।
‘टिजरको काम टिज गर्ने अर्थात् दर्शकलाई फिल्मप्रति उत्सुक बनाउने हो र टिजरले त्यो गरेको छ’, निर्देशक लामिछानेले भने । केदार घिमिरेलाई पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत गर्दा दर्शकको स्वीकारोक्तिलाई लिएर केही दुविधा रहे पनि टिजरमा आएको प्रतिक्रियाले आफूहरू ढुक्क भएको उनले बताए ।
फिल्मको मुख्य कथा ‘माग्ने’ को चरित्र वरिपरि घुम्ने भएकाले प्रचार सामग्रीमा उनकै चरित्रले स्थान पाउने लामिछानेले बताए । उनले यो कथालाई ‘माग्ने’ को स्पिन-अफ चरित्र भन्न सकिने र सुरुदेखि नै यही कुरा भनिँदै आएको स्पष्ट पारे । ‘हामीले ‘माग्ने’ लाई एउटा हास्यरसयुक्त कथासहित प्रस्तुत गर्ने प्रयास गरेका हौँ । यही अपेक्षाअनुसार फिल्म हेर्नुभयो भने निराश हुनुपर्दैन’, उनले थपे ।
मुनाल घिमिरेको लगानीमा बनेको ‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । फिल्ममा केदार घिमिरेका साथै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको छ। नरेन्द्र मैनालीले फिल्मको छायांकन गरेका हुन् ।