फिल्म । पछिल्लो समय सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा चर्चामा रहेकी इन्फ्लुएन्सर प्रशंसा रायमाझीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने भएकी छन् । हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’को सहकार्यमा निर्माण हुन लागेको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’बाट प्रशंसाले अभिनेत्रीका रूपमा आफ्नो फिल्मी यात्रा सुरु गर्न लागेकी हुन् ।
यस फिल्मको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को अवसर पारेर गरिएको थियो । लामो समयदेखि टेलिभिजनमा ‘भद्रगोल’ र ‘सक्किगो नि’ जस्ता लोकप्रिय सिरिजमार्फत दर्शकको मन जित्दै आएका जिग्री र काकुको यो सहकार्यलाई फिल्म वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । फिल्मको निर्देशन दीपकप्रसाद आचार्यले गर्नेछन् भने यसको कथा कुमार कट्टेलको रहेको छ । ‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ ।
फिल्मको मुख्य विषयवस्तु दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहने लेखक कुमार कट्टेलले जानकारी दिए । यस फिल्ममा सविन अधिकारी र बसन्त न्यौपाने पनि लेखकका रूपमा रहेका छन् ।
यसअघि दीपकप्रसाद आचार्यद्वारा निर्देशित फिल्म ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो । त्यस्तै, कुमार कट्टेलको निर्देशन तथा अभिनय रहेको ‘लाज शरणम्’ले पनि व्यावसायिक रूपमा उल्लेखनीय सफलता हासिल गरेको थियो ।










