‘फिल्म क्षेत्र किन खुलेन सरकार…?’

0 Shares

फिल्म । लकडाउन सकिएको पनि लामो समय भईसकेको छ । अधिकांस क्षेत्र पुनः लयमा फर्किने दिनचर्यामा छन् । कोरोना भाइरसले सिर्जना गरेको अवस्थामा अन्य क्षेत्रहरु विस्तारै तंग्रिदै गरेपनि फिल्मी क्षेत्र भने अझै अन्यौलमै छ । सरकारले गत चैत्रमा लकडाउन अगावै फिल्म हल बन्द गरेको थियो । फिल्म हलहरुसँगै बन्द भएका अन्य क्षेत्र विस्तारै चलायमान भएता पनि सरकार यस क्षेत्र प्रति भने उत्तरदायी देखिएको छैन ।

भारतमा फिल्म हल विस्तारै खुलेता पनि नेपालमा भने चाडवाडमा पनि फिल्म खुल्न सकेन । फिल्मको लागि उत्तम समय मानिने दसैँमा पनि सुरक्षा सम्बन्धि मापदण्ड अपनाएर फिल्म हल नखुलेपछि यतिबेला फिल्मकर्मी निराश बनेका छन् । कलाकारहरु म्युजिक भिडियो र सिरिजमा अभिनय गर्न थालेपछि फिल्म क्षेत्र चलायमान नहुदाँको मार निर्माता र निर्देशकलाई बढी परेको छ ।

हल संचालक पनि ऋण र व्याजको मारमा परेका छन् । फिल्म हल झैँ भिडभाड हुने अन्य क्षेत्र खुलिसक्दा पनि यस क्षेत्र प्रति सरकारको चासो नहुनु आश्चर्यजनक छ । यद्दपी फिल्मनगरीले पनि आफ्नो आवाज भने उठाउन सकेको थिएन । यद्दपी फिल्म निर्माता , वितरकसँगै कलाकार समेत रहेका करण श्रेष्ठले सडकमै आएर आवाज उठाएका छन् ।

उनले ‘सबै खुल्यो, चलचित्र क्षेत्र किन खुलेन सरकार ? हाम्रोमा पनि मजदुर छन्’ लेखिएको प्लेकार्ड लिएर सिंहदरबार पूर्वी गेटमा देखाएका छन् । सञ्चार मन्त्रालय नजिकै उनले यस्तो प्लेकार्ड लिएर एक्लै उभिएका थिए । ‘आज यो आवाज एक जनाको भएपनि छिटै फिल्मनगरीको हुनेछ’ करणले भने । उनले आफुले फिल्मनगरीमा रहेका निर्माण पक्ष , वितरण पक्ष र प्रदर्शन पक्षको मजदुरहरु प्रति सरकार जवाफदेही हुनु पर्नेमा जोड दिए ।

‘हामी झनै सुरक्षा सम्बन्धि मापदण्डहरु अपनाएर हल खोल्न तयार छौ , तर यो आवाजलाई बुलन्द बनाइ सरकार समक्ष पुर्याउनु पर्छ’ उनले भने ।

कमेन्ट गर्नुहोस्