फिल्म । ओटीटी प्लाटफर्ममा निकै चर्चित वेब सिरिज ‘मिर्जापुर’ अब फिचर फिल्मका रूपमा दर्शकमाझ आउने भएको छ। बिहीबार फिल्मको टिजर सार्वजनिक गरिएको छ, जसले कथावस्तुबारे केही संकेत दिएको छ। सत्ता संघर्ष, राजनीतिक षड्यन्त्र, विरासत, दुश्मनी र क्रूर हिंसाको पुरानै संसारलाई फिल्मले निरन्तरता दिने टिजरबाट स्पष्ट हुन्छ।
टिजरमा पंकज त्रिपाठी अभिनीत कालीन भैयाले मिर्जापुरमा आफ्नो प्रभुत्व कायम राखिरहेको देखाइएको छ। उनको साम्राज्य ढाल्न अली फजल अभिनीत गोविन्द मैदानमा उत्रिएका छन्। उनका भाइ बाब्लु पण्डितको भूमिकामा यसपटक ‘पञ्चायत’ सिरिजका सचिवका रूपमा चर्चित जितेन्द्र कुमार देखिएका छन्। वेब सिरिजमा भने उक्त भूमिका विक्रान्त मेसीले निभाएका थिए।
अली फजलले यसअघि फिल्मको कथा वेब सिरिजका घटनाभन्दा अघिको समयमा आधारित रहेको बताएका थिए। यही कारण वेब सिरिजमा मृत्यु भइसकेका पात्रहरू पनि फिल्ममा फर्किएका छन्। दिव्येन्दु (मुन्ना भैया), राजेश टैलाङ र शीबा चड्ढा पुनः आफ्ना भूमिकामा देखिएका छन्। साथै, ‘मिर्जापुर’ फ्रेन्चाइजमा यसपटक रवि किशन पनि जोडिएका छन्, जो ग्याङस्टरको भूमिकामा रहेका छन्।
गुरमीत सिंहको निर्देशनमा बनेको ‘मिर्जापुर द मुभी’मा पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु, श्वेता त्रिपाठी, श्रिया पिलगांवकर, रवि किशन, जितेन्द्र कुमार, कुलभूषण खरबन्दा र रसिका दुग्गललगायत कलाकारहरूको अभिनय रहेको छ।










