देश । ‘ए राता मकै’ नामले चर्चित वरिष्ठ हाँस्य कलाकार किरण केसी आज (आइतबार) देखि ६८ औं वर्षमा प्रवेश गरेका छन् । यसै अवसर पारेर ललितपुरको इमाडोलमा वरिष्ठ हाँस्य कलाकार केसीको जन्मदिन भव्यताका साथ मनाइएको छ ।
उक्त जन्मोत्सव समारोहमा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, दिपकराज गिरी, दीपाश्री निरौला, सन्दीप छेत्री, निर्मल शर्मा, रमेश उप्रेती लगायतका कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कलाकार केसीले हाँस्य कलाकारिता र चलचित्र पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेका छन् । सो अवसरमा विगत तीन दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय राजन घिमिरे नगद राशिसहित दोसल्ला ओढाएर सम्मानित भएका छन् । पत्रकारिताका माध्यमबाट चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि पुर्याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको हो ।
सम्मान ग्रहण गर्दै पत्रकार घिमिरेले भने,‘यो सम्मानले मलाई आगामी दिनमा अझैँ दायित्व थपिएको महसुस भएको छ । कला क्षेत्रकै उच्च व्यक्तित्व पाएको यो सम्मानले मलाई अझैँ ऊर्जा थपेको छ ।’
कार्यक्रममा पत्रकार घिमिरेसँगै निर्देशक तथा हास्यव्यङ्ग्य कलाकार कमलकान्त मैनाली, वरिष्ठ हास्यव्यङ्ग्य कलाकार सविता गुरुङ, पत्रकार शारदा थापा, निर्देशक तथा कलाकार राज शरण बस्नेत, हास्यव्यङ्ग्य कलाकार सुशिला निरौला, वरिष्ठ संचारकर्मी तथा कलाकार शिरोमणी दवाडी, समाजसेवीद्वय प्यारा सिंह न्यौपाने र श्री नेहा पोखरेल लगायतका व्यक्तित्वहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो ।