फिल्म । निर्देशक मिलन चाम्सको नयाँ फिल्म ‘सुम्निमा’ मा अभिनेत्री हेरफेर गरिएको छ । छायांकनका लागि लन्डन पुगेकी उपासना सिंह ठकुरीले टिमसँगको रचनात्मक विभेदका कारण फिल्मबाट बाहिरिने निर्णय गरेपछि उनको ठाउँमा सोल गुरुङलाई प्रवेश गराइएको हो । मंगलबार निर्माण पक्षले उनलाई फिल्मकी मुख्य अभिनेत्रीको रूपमा तस्बिरसहित दर्शकमाझ चिनाएको छ ।
लामो समयदेखि लन्डनमा बस्दै आएकी सोल गुरुङले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गर्न लागेकी हुन् । उनले केही म्युजिक भिडियोमा भने अभिनय गरिसकेकी छन् । लन्डनमा उनको केही दृश्यहरू छायांकन भइसकेका छन् भने फिल्मको बाँकी छायांकनका लागि उनी चाँडै नेपाल आउँदैछिन् । यस फिल्ममा उनको जोडी अभिनेता कुन्साङ बमजनसँग बाँधिएको छ ।
प्रेम कथामा आधारित ‘सुम्निमा’ गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुँदैछ । निर्देशक मिलन चाम्सले यो फिल्मको कथा ‘युनिभर्सल’ भएकाले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै निर्माण गरिने बताएका छन् । राजीव थापाको लेखन रहेको यो उनको ११औँ निर्देशकीय फिल्म हो । यसअघि उनले ‘वीर विक्रम’, ‘लिलीबिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ जस्ता फरक-फरक शैलीका फिल्महरू निर्देशन गरिसकेका छन् । उनको पछिल्लो फिल्म ‘अञ्जिला’ (बायोपिक) सुपरहिट भएको थियो ।
फिल्ममा सोल गुरुङ र कुन्साङ बमजनसँगै अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुष्मा सुब्बा लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।









