फिल्म । केहि वर्ष यता बलिउडका भाइजान अर्थात् सलमान खानको फिल्म हेर्दै दर्शकले इद सेलिब्रेट गरिरहेका छन् । यस वर्ष पनि इदमा सलमानको फिल्म भारत प्रदर्शनमा आउंदैछ । तर अर्को वर्ष अर्थात सन् २०२० मा भने इदमा सलमानको फिल्म नआउने भएको छ । यस मितिमा अक्षय कुमारले आफ्नो एक्सन फिल्म ‘सूर्यवंशी’ को घोषणा गरिसकेका छन् ।
उनले डेट घोषणा गरेपछि सलमान र अक्षयको फिल्म सन् २०२० को इदमा एकसाथ आउने चर्चा नचलेको होइन तर अब त्यस्तो नहुने भएको छ । बि-टाउनबाट आएको खबरलाई आधार मान्ने हो भने डेट घोषणा गर्नु अगाडी नै अक्षयले सलमानसँग सल्लाह गरेका थिए । सलमानले आफुलाई आपत्ति नहुने भनेपछि मात्र अक्षयले फिल्म आउँदो वर्षकको इदमा आउने घोषणा गरेका थिए ।
सलमान र अक्षयलाई बि-टाउनको राम्रो साथी पनि मान्ने गरिन्छ । मुझसे शादी करोगी , जानेमन लगायतका फिल्ममा सँगै काम गरेका सलमान र अक्षय पछिल्लो समय भने एकै फिल्ममा देखिएका छैनन् । रोहित शेट्टीको निर्देशनमा तयार हुने फिल्म ‘सूर्यवंशी’ मा अक्षय कुमार वीर सूर्यवंशीको भूमिकामा देखिनेछन् । आउदो अप्रिलबाट छायाँकनमा जाने फिल्ममा अक्षय एक निडर पुलिसको भूमिकामा देखिदैछन् ।











