
फिल्म । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको सङ्घर्षलाई प्रस्तुत गरिएको छ । मगर संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्ने अवसर दर्शकलाई दिने विश्वास निर्माण टिमको छ ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

असार २८ गते प्रदर्शनमा आउने ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् । फिल्मको गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ ।
