फिल्म । नेपाली कथानक फिल्म ‘जार’ यही वैशाख २६ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित यो फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यसमार्फत अभिनेत्री गीताञ्जली थापा नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । भारतमा उनी एक अब्बल कलाकार मात्र नभई राष्ट्रिय पुरस्कार विजेता पनि हुन् । गीताञ्जलीले ‘लायर्स डाइस’ नामक फिल्मबाट भारतको प्रतिष्ठित राष्ट्रिय फिल्म पुरस्कार जितेकी हुन्।
यति मात्र नभई नेटफ्लिक्स प्रयोगकर्ताहरूका लागि पनि गीताञ्जली परिचित नाम हो । उनले नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।
उनले अभिनय गरेका सिनेमाहरूले नेपाल र भारतमा मात्र नभई विश्वभरका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा आफ्नो उपस्थिति जनाइसकेका छन् । टोरन्टो, बुसान, लस एन्जलस र न्युयोर्क जस्ता विश्वचर्चित फिल्म फेस्टिभलहरूमा उनका फिल्म प्रदर्शन भइसकेका छन् ।
निर्माण पक्षका अनुसार गीताञ्जलीको कुशल अभिनयले ‘जार’लाई थप उचाइ प्रदान गर्नेछ । नयाँ र ताजा अनुहारमार्फत कथा भन्दा दर्शकलाई कथा बुझ्न सहज हुने र फिल्म विश्वसनीय बन्ने उनीहरूको विश्वास छ । ‘जार’ले गीताञ्जलीको माध्यमबाट यही सहजता प्राप्त गरेको छ ।
‘जार’ सन् १८०० को दशकमा नेपाली समाजमा घटेको वास्तविक घटनामा आधारित फिल्म हो । निर्देशक फुर्वा छिरिङ लामाले यसलाई निर्देशन गरेका हुन् ।
फेरि टेल पिक्चर्सको निर्माण रहेको ‘जार’ सामाजिक विषयमा बने पनि यो एक पूर्ण मनोरञ्जनात्मक प्याकेज भएको निर्देशक लामाको दाबी छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको छायांकन सिक्किममा गरिएको हो ।
फिल्म ‘जार’को कार्यकारी निर्माताहरूमा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् । सरवानन इलावार्सुले छायांकन गरेको यस फिल्मको सम्पादन अखिलेश राईले गरेका छन् भने झुमा लिम्बू र गंगा थापाको संगीत रहेको छ ।











