फिल्म । चलचित्र विकास बोर्डले निर्माण गरेको चलचित्रजन्य पाइरेसी विरुद्धको श्रव्य दृश्य सामग्री नेपालका सबै हलहरुमा देखाइने भएको छ। बिहिवार देशभरका चलचित्र हल संचालकहरुको छाता संस्था नेपाल चलचित्र संघलाई औपचारिक पत्र काट्दै हरेक हलमा सामग्री प्रदर्शनको व्यवस्था गर्न निर्देश गरेको छ। यो सामग्रीमा प्रियंका कार्की, रुबि श्रेष्ठ, डिक्की गुरुङ लगायतका कलाकारहरुले अभिनय गर्नुभएको छ भने सुयोग गुरुङले निर्देशन गर्नुभएको छ।
यो सामग्रीमा चलचित्र र चलचित्रजन्य वस्तु जानेर वा अञ्जानवश पाइरेसी गर्दा हुने कारबाहीलाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ। साथै, यसमा बोर्ड अध्यक्ष भुवन केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका प्रवक्ता लालबहादुर बस्नेत र नेपाल प्रहरीका डिआईजी कुबेर कडायतको पाइरेसी सम्बन्धी कानुनी प्रावधानहरु सहितको भनाई राखिएको छ।
बोर्ड अध्यक्ष केसीले यो सामग्रीले समस्त दर्शकवर्गमा पाइरेसी सम्बन्धी जनचेतना जगाउने विश्वास व्यक्त गर्नु भयो। उहाँले बोर्डले वर्तमानमा डरलाग्दो स्थितीमा रहेको पाइरेसी समस्या समाधानको लागि जनचेतना जगाउने विभिन्न कार्यक्रमहरूसँगै साइबर सेक्युरिटी डेस्क स्थापनाको लागि पनि कार्य गरिरहेको बताउनुभयो। साथै, केसीले नेपाललाई अन्तराष्ट्रिय चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा प्रवर्धन गर्ने विभिन्न योजनाहरुमा समेत काम गरिरहेको बताउनुभयो।