‘झिङ्गे दाउ २’को दसैँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक

फिल्म । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिङ्गे दाउ २’को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक गरिएको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दसैँको माहोल समेटिएको गीत सार्वजनिक गरेको हो।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्ति श्री परियारको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्टलाई प्रस्तुत गरिएको छ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा कलाकारहरू रातो टीका र जमरामा सजिएका छन्। भिडियोमा लिङ्गे तथा रोटे पिङमा रमाउँदै गरेका कलाकार तथा कोरसलाई पनि देख्न सकिन्छ। यसअघि सार्वजनिक गरिएको फिल्मको तीज गीत ‘जेठानी-देउरानी’ले चर्चा पाएको थियो।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माताका रूपमा रहेका छन्।

फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को छायाङ्कन, मित्र डि गुरुङको सम्पादन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल विष्टका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतका कलाकारको अभिनय छ।

कमेन्ट गर्नुहोस्