फिल्म । केही दिनअघि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको फिल्म ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अभिनेता अर्पण थापा अनुबन्धित भएका छन् । साइकोलजिकल थ्रिलर जनरामा निर्माण हुने यो फिल्मलाई बलिराम चौहानले निर्देशन गर्नेछन् ।
चौहान हाल चर्चित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन् । ‘द ब्ल्यू लाइट’ उनको डेब्यु निर्देशन हो । निर्माण टिमका अनुसार, मङ्गलवार औपचारिक रूपमा थापालाई शीर्ष भूमिकामध्ये एकमा अनुबन्धित गरिएको हो ।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा बन्ने यो फिल्मको सह–निर्माताको रूपमा रमन ग्रे रहनेछन् । जेठ २१ गतेदेखि छायाङ्कन सुरु हुने फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।
मङ्गलवार सार्वजनिक थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणमा एक बालिका उभिएको देखिन्छ । पोस्टरमा बालिकाको कम्मरदेखि माथिको भागमात्र देखाइएको छ, जहाँ उनको जुङ्गरुङ्ग कपाल र विछिप्त मुद्राले फिल्मको रहस्यमय र मनोवैज्ञानिक पृष्ठभूमि झल्काउँछ । यद्यपि, पोस्टरले कथावस्तु पूर्ण रूपमा खुलाउँदैन ।
निर्देशक चौहानले कथावस्तु र अन्य कलाकारको विवरण हाललाई गोप्य राखेका छन् । उनले चाँडै नै कलाकारको पूर्ण लाइनअप सार्वजनिक गरिने बताएका छन् । निर्माण पक्षले ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै प्रदर्शन गर्ने योजना बनाएको छ ।










