‘राजागंज’ को नेपाल प्रदर्शन तय

फिल्म । दीपक रौनियारको निर्देशनमा निार्माण भएको सिनेमा ‘राजागंज’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि विभिन्न विश्वप्रसिद्ध सिनेमा महोत्सवमा ‘पूजा, सर’ नाममा प्रदर्शन भएको सिनेमा नेपालमा भने ‘राजागंज’ नामबाट आगामी चैत १ गते रिलिज गरिने निर्माण टिमले जानकारी दिएको हो । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन् । सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ ।

यो सोसल ड्रामा तथा एक्सन सिनेमामा आशा मगराती मुख्य भूमिका छिन् । सिनेमामा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।

सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ स्वीट्जरल्यान्ड, जर्मनी, अस्ट्रिया यूके र आयरल्यान्ड जस्ता देशमा पनि बिक्री भइसकेको जनाइएको छ । सिनेमाले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

कमेन्ट गर्नुहोस्