फिल्म । गत शुक्रबारदेखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘पार्वती’ले सुरुवाती तीन दिनमै दर्शकको राम्रो साथ पाएको छ। ‘द माया डिजिटल युएसए’ले वितरण गरेको फिल्मका अधिकांश शो हाउसफुल भएका छन्।
सेप्टेम्बर ११ देखि अमेरिकाका विभिन्न हलमा फिल्म प्रदर्शन भइरहेको छ। सिनेमार्क टिन्सलटाउन रोचेस्टरमा साँझ ६ बजे, मार्कस पिकरिङ्टन सिनेमामा साँझ ६ः२० बजे, एप्पल सिनेमाज ह्वाइट प्लेन्समा साँझ ६ः३० बजे तथा सिनेमार्क कुयाहोगा फल्स एन्ड एक्सडीमा दिउँसो १ः२५ बजे फिल्म प्रदर्शन भइरहेको जनाइएको छ।
फिल्म हेर्न हल पुगेका नेपाली दर्शकले कथावस्तुका साथै मुख्य अभिनेत्री नीता ढुङ्गाना र बालकलाकार अशोक दर्जीको अभिनयको प्रशंसा गरेका छन्। विदेशमा रहेका नेपाली दर्शकबाट पाएको प्रतिक्रिया र साथले अभिनेत्री तथा निर्देशक नीता ढुङ्गाना उत्साहित देखिएकी छन्।
हरिहर अधिकारी निर्माता र शंकर पाण्डे कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक नीता ढुङ्गानाकै हो। पटकथा शिवम् अधिकारीले लेखेका हुन्। फिल्ममा नीता ढुङ्गाना र अशोक दर्जीका साथै दीपाश्री निरौला, राज पंगेनी, दीप्त प्रकाश अधिकारी, सिरु बिष्ट, आशा पौडेल, सुवास गजुरेल, राधिका कँडेल र राजेन्द्र नेपालीलगायतका कलाकारको अभिनय छ।
सुदीप बरालको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन तथा साहिल खानको सम्पादन रहेको फिल्मका ‘तुनाको रेल’ र ‘दिदी भाइ’ बोलका गीत प्रदर्शनअघि नै चर्चामा आएका थिए। नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले वितरण गरेको फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।










