किन आइन पूजा नेपाल ?

फिल्म । अमेरिका बसोबास गर्ने अभिनेत्री पूजा चन्द नेपाल आएकी छिन् । पछिल्लो केहि वर्षदेखि अमेरिकामै रहेर पनि फिल्म अभिनयमा सक्रिय रहेकी पूजा यसपटक आफू अभिनित फिल्म ‘परान’को प्रचारप्रसारका लागि नेपाल आइपुगेकी छन् । उनी सोमबार बिहान ११:१० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी थिइन् । विमानस्थलमा उनलाई फिल्मका निर्देशक दीपकप्रसाद आचार्यले स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै चन्दले १८ घण्टाको लामो यात्रामा आफ्नो मोबाइलमा फिल्मका क्लिपहरू हेरेर समय बिताएको बताइन्। उनले फिल्मको प्रचारका लागि करिब एक महिना नेपाल रहने र ‘परान’प्रति निकै उत्साहित रहेको प्रतिक्रिया दिइन् ।

‘परान फिल्म मेरा लागि एकदमै विशेष छ । प्रमोसनका लागि पूर्ण समय दिनेछु । पारिवारिक कथामा बनेको यो फिल्म सबैलाई मन पर्ने मेरो विश्वास छ’, उनले भनिन् । ‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो उनको पहिलो फिल्म हो । फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बालकलाकार आर्यदीप आचार्यको अभिनय रहेको छ ।

रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वरमा रहेका गीतहरू, शिवराम श्रेष्ठको छायांकन तथा मित्र डी. गुरुङको सम्पादन रहेको यो फिल्मलाई बाइस्कोप सिनेमा प्रा.लि.ले निर्माण गरेको हो । यो कम्पनी देशकै प्रतिष्ठित व्यावसायिक समूह गोल्छा ग्रुप र प्रिज्मा ग्रुपको संयुक्त लगानीमा स्थापित भएको हो, जसले गर्दा फिल्मप्रति दर्शकको अपेक्षा उच्च छ ।

कमेन्ट गर्नुहोस्