फिल्म। भारतीय अभिनेता तथा साहित्यकार पियुष मिश्राले अभिनय यात्राको सुरुवात रङ्गमञ्चबाट गर्नुभएको थियो । साहित्यकार, रंगकर्मी, कलाकार माँझ फरक परिचय स्थापित गर्नुभएका अभिनेता मिश्राले ‘ह्याम्लेट कभी बम्बे नही गया’ शिर्षकमा भारतीय तथा नेपाली साहित्यकारहरूसँग अन्तरक्रिया गर्नुभएको छ । काठमाडौंमा सम्पन्न ‘कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन् नेपाल आउनु भएका अभिनेता मिश्राले आफ्नो आत्मकथासँगै नेपाली फिल्म र साहित्यको विषयमा चर्चा गर्नुभयो । ‘नेपाली रङ्गमञ्च वा फिल्म म कहिले गर्दिन । किनकी म नेपाली भाषालाई सम्मान गर्छु । यसलाई नबुझी यो भाषामा काम गर्नु मुर्खता हुन्छ । केही तामिल र तेलुगु भाषामा काम गरेर मैले गल्ती गरिसके’, अभिनेता मिश्राले भन्नुभयो । नेपाल सुन्दर लाग्ने भएकाले केही समयकै अन्तरालमा दोस्रो पटक आइपुगेको जानकारी दिदै उहाँले इमान्दारिताले राम्रो कलाकार बनाउने बताउनुभयो ।
‘म भित्र दबिएको आक्रोश र भावनालाई मैले आफू र आफ्नो केही मान्छेसँग पोखेपछि म पियुष बने । नत्र मैले आफ्नो गन्तव्य गुमाईसकेको थिएँ । आफूलाई स्वतन्त्र बनाउनुस्’, उहाँले भन्नुभयो । आफ्नै जीवनलाई फर्किएर हेर्दा लेखिएका कविता, सिर्जना भएका संगीत, गायकीलाई उहाँ ‘चमत्कार’ भन्नुहुन्छ । ‘मैले आठ कक्षामा कविता लखेको थिएँ । जीवनकै पहिलो कविता अहिले पनि सुनाउँदा वाह भन्ने आवाज सुन्छु । मैले केही सोचेर वा मेहनत गरेर नभई यतिकै लेखेको कविता हो त्यो । संगीत, गायन र अभिनय पनि त्यस्तै तरिकाले भएका थिएँ । सायद कुनै शक्ति थियो जसले मलाई उर्जा प्रदान गरिरहेको थियो’, अभिनेता मिश्राले भन्नुभयो ।
आफूलाई रङ्गमञ्चमा बाल्यकालको भोगाई मार्फत पात्रहरू तयार गरेर प्रस्तुत गर्नुभएको अभिनेता मिश्राले बलिउड कहिले प्राथमिकतामा नपरेको बताउनुभयो । ‘म मुम्बई धेरै समय पश्चात गएको थिएँ । बलिउड मलाई जानु नै थिएन । अहिले पनि बलिउड फिल्महरू मेरो लागि पैसा कमाउने बाहेक केही होइनन्’, अभिनेता मिश्राले भन्नुभयो । सत्यानन्द निरुपमले सहजीकरण गर्नुभएको अन्तरक्रियामा अभिनेता मिश्राले कविता वाचनसँगै गीत गाउनु भएको थियो । महोत्सव समापन भएसँगै उहाँ स्वदेश फर्किसक्नु भएको छ ।












