फिल्म । यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक गरिएको छ । यो भिडियो सामग्री फिल्मका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो ।
प्रि-टिजरमा अभिनेता भट्टका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ । भिडियोको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।
फिल्मका निर्देशक सन्तोष सेनका अनुसार समीरमा कलाकारिता र अभिनयका सबै गुण भरिएका छन्, र ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको छ । सेनले प्रि-टिजरलाई समीरको प्रस्तुतिको झलक भन्दै यो सिरिजमा थप झिल्काहरू क्रमशः सार्वजनिक गरिने जानकारी दिए ।
फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ । ‘आसुसेन फिल्म्स् प्रा.लि.’ को प्रस्तुति रहेको यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।