‘माइतीघर’को अस्ट्रेलिया राइट्स बिक्री

फिल्म । मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माण रहेको फिल्म ‘माइतीघर’को अस्ट्रेलिया रिलिज राइट्स बिक्री भएको छ । आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शन हुने यो फिल्मको कन्टेन सार्वजनिक नहुँदै फिल्म बिक्री भएको हो ।

निर्माण पक्षका अनुसार, अस्ट्रेलिया राइट्स बिक्रीसँगै फिल्मको लगानीको ठूलो हिस्सा सुरक्षित भएको छ । यो राइट्स हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामी र प्रकाश गैरेले खरिद गरेका हुन् । निर्माता अधिकारीले अन्य देशहरूमा पनि फिल्मको राइट्स बिक्रीको कुराकानी भइरहेको बताए । कथावस्तु, बलियो कलाकार लाइनअप र निर्माण टिमको मेहनतका कारण विदेशी बजारमा फिल्मको माग बढेको छ ।

चाँडै नै अन्य देशका राइट्स पनि बिक्री हुने सम्भावना छ । सुसन प्रजापतिको छायांकन रहेको यो फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्