फिल्म । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा प्रस्तुती दिएकी छिन् । बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक भव्य कार्यक्रममा उनले आफ्ना लोकप्रिय बलिउड गीतहरूमा आकर्षक र ऊर्जावान प्रस्तुति दिएकी हुन् ।
‘स्नेक’ लगायत उनका अन्य चर्चित गीतहरूमा कोरस डान्सरको टोलीसहित नोराले दिएको प्रस्तुति हेर्न हायातको चौर दर्शकले खचाखच भरिएको थियो । यो कार्यक्रम विशेष गरी शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा कार्यरत सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना गरिएको थियो, जसले कार्यक्रमको उद्देश्यलाई अझ प्रशंसनीय बनाएको छ ।
शनिबार बिहानै आफ्ना दुई सहयोगीका साथ काठमाडौं आइपुगेकी नोरा फतेही आज, आइतबार, जेठ ५ गते संयुक्त अरब इमिरेट्स फर्किएकी छिन् । वर्ल्डवाइड फिल्म्सका देव मगर र मनु मिडियाका मनिष कार्कीले नोरा र उनको टोलीलाई नेपाल ल्याएको हो ।
कार्यक्रममा नोरा फतेहीको धमाकेदार प्रस्तुतिसँगै नेपाली कलाकारहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो । लोकप्रिय गायक दुर्गेश थापा, प्रतिभाशाली नृत्यांगना तेरिया मगर, बाल कलाकार समर्पण लामा र हालै सम्पन्न ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई तथा इन्द्रकला राईले पनि आ-आफ्नो कला प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए।
यसरी बलिउड र नेपाली कलाको सुन्दर संगमले कार्यक्रमलाई थप रंगीन र अविस्मरणीय बनाएको थियो । कार्यक्रमले नेपाली दर्शकलाई अन्तर्राष्ट्रियस्तरको मनोरञ्जन प्रदान गर्नुका साथै एक सामाजिक कार्यमा समेत योगदान पुर्याएको छ । नेपालको पर्यटन प्रवद्वनमा समेत महत्वपुर्ण उपलब्धि देखिएका कार्यक्रमम नेपाफ पर्यटन बोर्ड र चलचित्र विकास बोर्ड प्रबद्वका रुपमा रहेका थिए । कार्यक्रममा इन्टरनेशनल कोर्डिनेटरका रुपमा युद्व बानियाँ र डिजिटल मार्केटिङ मनिष बखती हुन् ।