फिल्म । नेपाली फिल्म ‘बा : एक योद्धा’को प्रदर्शन मिति परिवर्तन भएको छ । भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित समयमा प्रदर्शनमा आउन नसकेको फिल्म अब असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि निर्माण टिमले बाढीपीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्दै फिल्मलाई मंसिर २४ गते प्रदर्शन गर्ने घोषणा गरेको थियो। वितरक तथा प्रदर्शकसँगको छलफलपछि नयाँ प्रदर्शन मिति तय गरिएको निर्माता वसन्त लम्सालले बताएका छन्।
‘हामी वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर ‘बा : एक योद्धा’लाई असोज ९ गते प्रदर्शनमा ल्याउने निष्कर्षमा पुगेका छौँ’, निर्माता लम्सालले भने, ‘यो मितिमा हामीलाई दर्शकसँगै सबै पक्षको साथ मिल्नेमा हामी विश्वस्त छौँ।’
नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौती फिल्मको मुख्य कथा हो। हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका हरि लम्साल संगीतकारसँगै रचनाकार र गायक पनि हुन्। फिचर फिल्म निर्देशनमा भने ‘बा : एक योद्धा’ उनको पहिलो फिल्म हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि लम्सालले नै लेखेका हुन्।
फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह-निर्माता हुन्।शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले फिल्म वितरण गर्नेछ।









