‘प्रेम गीत ३’ टिजर द्वन्द्वप्रधान (भिडियो)

फिल्म । नेपालीसँगै हिन्दी भाषा मार्फत विश्वभर प्रदर्शनमा आउने फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक भएको छ । नेपाली टिजर ओएसआर डिजिटल र हिन्दी टिजरलाई सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक गरिएको हो । भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका छन् । शनिबार बिहानै सार्वजनिक टिजरले प्रदीप खड्काको चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई देखाइएको छ ।

झन्डै १ मिनेट लामो टिजर प्रदीपमय छ । तर निर्माण टिमले टिजरमा यसको ब्रान्ड भ्यालु अनुरुप प्रेमिल संवाद वा दृश्य नराखेर द्वन्द्वलाई प्राथमिकता दिएको छ । हिउँले भरिएको मुस्ताङका दृश्य आकर्षक छन् र फिल्मको एक्सन पनि रोचक छ । टिजरमा प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदिले ठाउँ पाएका छन् ।

राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्का) लाई गीत (प्रेमिका) र राजगद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको छ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीपसँगै अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्