यसकारण स्थगित भयो ‘अक्षरा’ को प्रदर्शन

फिल्म । क्षीत बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्म ‘अक्षरा’को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यसअघि आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरिएको फिल्म अब मंसिर २४ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ। निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले जारी गरेको विज्ञप्तिअनुसार रसुवामा आएको बाढी–पहिरो तथा हालको परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शन मिति परिवर्तन गरिएको हो।

प्रदर्शन मिति परिवर्तनका कारण दर्शक, हल व्यवसायी तथा फिल्मसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण शुभेच्छुकमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमायाचना गरेको छ। नयाँ प्रदर्शन मितिमा पनि दर्शकको माया, साथ र सहयोग निरन्तर प्राप्त हुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

साथै, फिल्म ‘अक्षरा’लाई माया, साथ र सहयोग गरिदिन निर्माण पक्षले सम्पूर्ण दर्शक तथा फिल्म क्षेत्रसँग सम्बन्धित सबैमा अनुरोध गरेको छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘अक्षरा’ले मंगलबार मात्रै युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको थियो। फिल्मलाई विनयराज पौडेलले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।

फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्कालगायत कलाकारको अभिनय छ। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गानाले अभिनय गरेका छन्।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। क्षीत बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको फिल्मको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन दीपेन बस्न्यातले गरेका छन् भने सम्पादन गौतम खड्काले गरेका हुन्। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले फिल्म वितरण गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

कमेन्ट गर्नुहोस्