फिल्म । आउँदो असोज १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रातो टीका निधारमा’ को पोस्टर सार्वजनिक गरिएको छ । अशोक शर्मा निर्देशित फिल्मको पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा केन्द्रित छन् । फिल्मको कथा र पात्र अनुसार नै पोस्टर सार्वजनिक गरिएको अशोकले जनाएका छन् । पोस्टरमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकार पनि देखिएका छन् । दसैँ लक्षित पोस्टरले रिलिजको समयलाई पनि प्रस्ट्याउछ ।
निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ । झण्डै २ दशक अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश चर्चित गीत ‘रातो टीका निधारमा’ लाई रि-एरेञ्ज गरेर राखिएको छ । केही दिनमा उक्त गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।
बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा. कृष्णहरि बराल र वि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गरेकी छिन् ।











