सङ्गीत । सदावहार गीत ‘धोका दियौ तिमीले’ को नयाँ भर्सन ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का फस्ट रनरअप रोशन राईको स्वरमा सार्वजनिक भएको छ । यो गीतमा प्राज्ञ शान्तिराम राईको सङ्गीत र वरिष्ठ गीतकार बुद्धवीर लामाको शब्द छ । ३५ वर्षअघि सरोजकुमार श्रेष्ठ र सुक्मित गुरुङको स्वरमा रेकर्ड भएको यो गीतको नयाँ भर्सनलाई देवेश राईले एरेन्ज गरेका छन् भने किश्वर थापाले मिक्सिङ र मास्टरिङ गरेका छन्।
स्वर्गीय विक्रम राईप्रति समर्पित यो गीतमा विक्रमकै अतिरिक्त सङ्गीत छ। साथै, गायिका मेलिना राईको स्वर पनि समावेश छ। गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक रोशन राईको अभिनय छ। निर्देशक राजेश पुमा राईले प्रेम, बिछोड र धोकाको कथालाई गीतको भावअनुसार प्रस्तुत गरेका छन्। भिडियोमा केकी र रोशनको अभिनयले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।
‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएका रोशन सानैदेखि सङ्गीतमा सक्रिय छन्। उनले २०६० मा पहिलो गीत रेकर्ड गरेका थिए र हालसम्म एक हजारभन्दा बढी गीत गाइसकेका छन्। चार एल्बम र सयभन्दा बढी सङ्गीत सिर्जना गरेका रोशनको ‘मेरो प्यारो खोटाङ’, ‘तिमी सित माया गर्दा’ र ‘जीवनमा एउटै’ जस्ता गीत लोकप्रिय छन्। म्युजिक भिडियोमा पहिलो पटक अभिनय गरेका रोशनको अभिनयले पनि प्रशंसा पाइरहेको छ।