फिल्म । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ‘काजी’ ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त संकेत दिएको छ । सार्वजनिक ट्रेलरमा पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ । ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’ पात्रका रूपमा देखिएका छन् । विवाहपछिको एक जोडीबीचको प्रेम, सम्बन्ध र भावनात्मक यात्रालाई ट्रेलरमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
फिल्मको मेकिङ, दृश्य संयोजन र संवादले दर्शकको ध्यान आकर्षित गर्न सफल देखिन्छ । ट्रेलरले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाएको निर्माण पक्षले जनाएको छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा तथा बालकलाकार दिक्षिता अर्याल को अभिनय रहेको छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजाल ले निर्देशन गरेका हुन् । प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउन्ड डिजाइन तथा सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।
फिल्ममा रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड, कविराज गहतराज नृत्य निर्देशक, प्रकाश हमाल प्रोडक्सन हेड, बनिश शाह सम्पादन सुपरभाइजर तथा बिपिन मल्ल सम्पादक रहेका छन् । फिल्मका कार्यकारी निर्माता असिम काफ्ले हुन् भने निर्माता नेहान रिजाल र विकाश राज जोशी रहेका छन् । श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ ।












