फिल्म । बहुसंख्यक महिला युनिटको संलग्नता रहेको साथ ‘एक मुठ्ठी बादल : My Share of Sky’ को सुटिङ समाप्त भएसँगै पोस्ट प्रोडक्सनका लागि जुटेको छ । लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो फिल्ममा पहिलो पटक महिलाले निर्माणका विभिन्न विभागहरूमा प्रमुखको भूमिका निर्वाह गरेका छन् । पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको फिल्म २२ दिनमा सकिएको हो ।
डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा फिल्मकर्मीहरू भित्रको महत्त्वपूर्ण लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो । अध्ययन्को निष्कर्ष अनुसार, नेपाली फिल्ममा १० प्रतिशतभन्दा कम महिलाहरूले चलचित्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिलाहरू प्रमुख, रचनात्मक र प्राविधिक भूमिकाहरूमा फस्टाउन सक्ने वातावरण निर्माणका लागि मुख्य विधाहरूमा महिलाको भूमिका चयन गरेको हो । यसले फिल्म निर्माणमा विध्मान लैङ्गिक असमानता र असन्तुलनलाई चुनौती दिने विश्वास लिएको छ ।
साहारा शर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा छायाँकारको भूमिका लिन ड्यानले निर्वाह गरेकी थिइन् । भियतनामकी ड्यानको यो तेश्रो फिचर फिल्म हो भने, ‘एक मुठ्ठी बादल’ पहिलो नेपाली फिचर फिल्म हुनेछ । यसैगरी प्रडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन् । यसमा कीर्ति जोशीले मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् पोशाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी थिइन्।
निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेका फिल्मलाई अभिमन्यु दीक्षित, अनुप पौडेल, र सामीप्यराज तिमल्सेनाले संयुत्त रुपमा निर्माण गरेका हुन् । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको फिल्ममा महिला कलाकारलाई नै मुख्य भूमिकामा देख्न सकिनेछ ।
फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ। प्रस्तुत कलाकार तथा प्राविधिकको संलग्नतामा विविध प्रतिभाले क्यामेरा पछाडि मात्र नभई अगाडि पनि महिलालाई सशक्तिकरण गर्ने स्पष्ट सन्देश दिने विश्वास लिइएको छ।
निर्देशक सहारा शर्माले फिल्मको निर्माण अप्ठेरो र चुनौतीपूर्ण रहे पनि सिकाइका हिसाबले उपलब्धिपूर्ण भएको बताइन् । उनले भनिन्, ‘के भइरहेको थियो भोग्दा मात्र थाहा हुन्थ्यो तर म प्राविधिक टिम र कलाकारको मप्रतिको भरोसा र अथक मेहनतका लागि आभारी छु ।’
फिल्म खिच्न भनेर भियतनामबाट काठमाडौँ आएकी २८ वर्षीय लिन ड्यानले खराब मौसम र भाषाको समस्याका बीच पनि नेपालको लाइटिङ र क्यामरा क्रुको परिश्रमले सुटिङ भनेकै समयमा सकिएको बताइन् । ‘जब हामीले लास्ट सट भन्यौँ , त्यो क्षण साँच्चिकै गज्जब थियो । फिल्म सकिएको कुराले हामी सबै यति खुसी थियौँ कि, सारा कलाकार र प्राविधिक यो क्षण महसुस गर्न एकसाथ उभिएका थियौँ’, उनले भनिन् ।
बलिउडका ‘रक्षा बन्धन’ लगायतका चलचित्रमा आर्ट असिस्टेन्टको काम गरेकी यशस्वी सबरवालले नेपाल हरकोहीलाई स्वागत गर्ने प्रकृतिको रहेको र आफूले पनि त्यस्तै स्वागत पाएको बताइन् । ‘नेपालीहरुको हृदय मायालु रहेछ । सुटिङका क्रममा पाएको माया र न्यानो स्नेह मैले सदाका लागि याद राख्नेछु,’ उनको भनाइ छ ।