फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रिमियर पश्चात सर्वत्र चर्चा बढिरहेको छ । फिल्म हेर्ने दर्शक बनेर पुगेका सेलिब्रेटीले यसलाई प्रसंशा गर्दै प्रतिक्रिया दिईरहेका छन् । प्रिमियरमा फिल्म हेर्ने पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भन्ने प्रतिक्रिया दिएका छन् । यस शृंखलामा जोडिएका अभिनेता हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईसँग दुई दशकदेखिको सङ्गत र सम्बन्ध रहेको बताए ।
‘मलाई कहिले प्रदीप श्रेष्ठ जस्तो लाग्छन्, कहिले प्रदीप आचार्य जस्तो । मह सञ्चारमा विरालो बनेर छिरेका निर्देशक भट्टराई अहिले फिल्म क्षेत्रको बाघ बनिसकेका छन् । यो टिमसँग जोडिएर उर्जावान युवा कलाकारसँग काम गर्न पाउँदा मलाई खुसी लागेको छ’, अभिनेता आचार्यले भने । उनले फिल्मले दर्शकलाई निराश नबनाउनेमा आफू विश्वस्त रहेको बताए ।
प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जीतु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, अभिनेत्री निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ,पुर्नेन्दु झा, सौरभ चौधरी, प्रचण्डमान श्रेष्ठ, अभिनेता गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतका सेलिब्रेटीले फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।










