फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘साईनो’ हेर्न नेपाल सरकारका रक्षा मन्त्री ईश्वर पोखरेल शुक्रबार बिहानै राजधानी स्थित कुमारी हलमा पुगेका थिए । नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको विशेष शोमा फिल्म हेर्ने फिल्मकर्मी र पत्रकारले यसलाई रुचाएका छन् । मन्त्री पोखरेलले ‘साईनो’ मन छुने मौलिक नेपाली कथामा निर्माण भएको प्रतिक्रिया दिए ।
‘यसमा समेटिएको कला, संस्कृतीले मन छोयो’ मन्त्री पोखरेलले सञ्चारकर्मीसंग कुरा गर्दै भने । मन्त्री पोखरेलसंगै फिल्म हेर्न आइपुगेका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले पनि फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । ‘फिल्मले दर्शकलाई होल्ड गराउछ’ उनले भने । निर्देशक दिपश्री निरौला, सरोज खनाल, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नवल खड्का, सवनम मुखियासंगै ‘साईनो’ टिम भुवन चन्द थापा, मिरुना मगर, राज कुमार, निर्देशक रमेश थापाले फिल्म हेरेका थिए ।
यसमा निता ढुंगाना, मिरुना मगर, राज कुमार, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका कलाकारहरुको अभिनय छ । रमेश थापाले निर्देशन गरेको फिल्मलाई अभिमन्यु निरबीले लेखेका हुन् । शरण थापा कार्यकारी निर्माता रहेको यसमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।










