थप ८६ जनालाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान

फिल्म । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘चलचित्रकर्मी परिचयपत्र’ राष्ट्रले दिएको पहिचानको रुपमा बुझ्न आग्रह गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा चाबहिलस्थित आफ्नै भवनमा बोर्डले आयोजना गरेको ‘विशिष्ट फिल्मकर्मी परिचयपत्र वितरण समारोह’ मा अध्यक्ष डिसीले परिचयपत्रले फिल्मकर्मीका रुपमा चिनाउने भएकाले यसको गरिमा छुटै रहेको बताए ।

उनले भने, ‘परिचयपत्रमा हामीले सक्दो सेवासुविधा दिएका छौँ, तर त्यसमा केही सुविधा नभए पनि फिल्मकर्मीको पहिचान भएको परिचयपत्र हो । त्यसले यसलाई ग्रहण गर्नु आफैँमा गौरवको कुरा हो । यसमा आगामी दिनमा सेवासुविधा थपिने नै छ ।’

उक्त समारोहमा मन्त्री गुरुङले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्राप्त गर्नेहरूलाई एक लाख पचास हजार र ‘चलचित्रकर्मी परिचयपत्र’ प्राप्त गर्नेहरूलाई पचहत्तर हजार रुपैयाँको स्वास्थ्य बीमा उपलब्ध गराइने घोषणा गरे । उनले फिल्म क्षेत्रको समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै असोज १५ लाई राष्ट्रिय फिल्म दिवसको रूपमा भव्य मनाउन आग्रह गरे ।

बोर्डका अध्यक्ष दिनेश डिसीले २० देखि ३० वर्षसम्म फिल्म क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई परिचयपत्र प्रदान गरिएको बताए । कार्यक्रममा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जीतु नेपाल, सुनिल थापा, शारदा गिरी, प्रदीपकुमार उदय, पुरुषोत्तम प्रधानसहित ८६ फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरियो ।

कमेन्ट गर्नुहोस्