‘झिँगेदाउ-२’ को राधाले आँचलमा के परिवर्तन ल्यायो ?

फोटो : राज मल्ल

फिल्म । अभिनेत्री आँचल शर्मा फिल्म ‘झिँगेदाउ’को ‘राधा’ पात्रलाई पुनः ६ वर्षपछि पर्दामा ल्याउँदैछिन् । पहिलो भागमा दर्शकले रुचाएको यही पात्रलाई उनले सिक्वेल ‘झिँगेदाउ-२’मा पनि निरन्तरता दिएकी छन् । फिल्म असोज २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

आँचलका अनुसार ६ वर्षपछि ‘राधा’ पात्रमा फर्किँदा त्यसमा केही परिपक्वता आएको छ । उनी भन्छिन्,‘पहिलेको तुलनामा राधा पात्र पनि अलि परिपक्व भएकी छन् । कलाकारको हिसाबले त्यो पात्र पनि अलि निखारिएको छ, यसपटक मेरो कलाकारिताको अनुभव पनि मात्रमा मिसिएको छ ।’

आफ्नो वास्तविक स्वभावभन्दा निकै फरक भएकाले पहिलोपटक राधाको भूमिका स्वीकार गर्दा आफूलाई चुनौती लागेको आँचल बताउँछिन् । निर्देशक ज्ञानेन्द्र देउजाले स्क्रिप्ट लिएर आउँदा आफूले सुरुमा यो भूमिका गर्न नसक्ने बताएको उनको भनाइ छ ।

‘जब ज्ञानेन्द्र सरले फिल्मको स्क्रिप्ट लिएर म कहाँ आउनुभयो, मैले यो भूमिका म किन गर्ने ? यो त म गर्न सक्दिनँ, म त त्यो जोनमै छैन भनेको थिएँ । तर उहाँले कन्भिन्स गर्नुभयो । नयाँ-नयाँ कुरा गर्न मलाई रमाइलो लाग्ने भएकाले मैले अभिनय गरेँ। त्यो राधाको क्यारेक्टरमा निकै चुनौती थियो, त्यही कारणले दर्शकले रुचाइदिनुभयो जस्तो लाग्छ’, अभिनेत्री शर्माले भनिन् ।

‘झिँगेदाउ-२’को कथा पहिलो भागकै अन्त्यबाट अगाडि बढ्ने आँचलले बताएकी छन् । उनका अनुसार फिल्मले पहिलो भागभन्दा अझ धेरै मनोरञ्जन दिनेछ । साथै, फिल्मले सम्बन्धको महत्वलाई समेत बुझाउने उनको दाबी छ ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजा फिल्मका लगानीकर्ता हुन् भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माता रहेका छन्।

विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन निर्देशन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

फिल्ममा आँचलसँगै केकी अधिकारी, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ। परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ।

कमेन्ट गर्नुहोस्